मोबाइल ह्याक हुनबाट बच्न थाहा पाउनैपर्ने १० उपाय

२०८१ बैशाख ९ आइतबार

प्रविधिको विकासले मानिसको जीवन त सहज भएको छ नै, सँगसँगै जोखिम पनि बढ्दै गएको छ । प्रविधिले मानिसको गोपनीयता भंग गर्ने काम पनि गरिरहेको छ । गोपनीयता जोगाउन सबैभन्दा धेरै हामीले याद गर्नुपर्ने कुरा भनेको मोबाइल हो ।

 

हाम्रो जीवन अहिले हामीले बोक्ने मोबाइलमा निर्भर भएको छ । दैनिक जीवनमा प्रयोग हुने सानो-सानो विवरण पनि हाम्रो मोबाइलमा नै हुने गर्छ । मोबाइल हराएको अथवा ह्याक भएको खण्डमा हाम्रो व्यक्तिगत डेटा सहजै अरूको हातमा जानसक्छ । 

 

१. बलियो पासवर्ड अथवा बायोमेट्रिक अथेन्टिकेसन प्रयोग गर्नुहोस् 

 

सुन्दा सामान्य लागे पनि हाम्रो मोबाइलमा प्रयोग हुने पासवर्डले मोबाइलको सुरक्षाको लागि निकै ठूलो भूमिका खेल्छ । हु्न त आजभोलि मोबाइल कम्पनीहरूले बायोमेट्रिक अथेन्टिकेसन प्रणाली प्रयोग गर्न थालेका छन् ।

 

मोबाइलको सुरक्षाका लागि बायोमेट्रिक अथेन्टिकेसन अर्थात् तपाईँको फिंगरप्रिन्ट वा फेसआईडी प्रयोग गर्नु उपयु्क्त हुन्छ । तर सबै मोबाइलमा यो फिचर नहुन सक्छ । यस्तोमा भने तपाईँले बलियो पासवर्ड प्रयोग गर्नुपर्छ ।

 

पासवर्डलाई विस्थापित गर्न पासकीको प्रयोग पनि बढ्दै गएको छ । तपाईँले मोबाइलमा प्रयोग गर्ने एपहरूमा पनि बलियो पासवर्ड अथवा पासकी प्रयोग गर्नु उपयुक्त हुन्छ । 

 

२. विश्वासिलो स्रोतबाट मात्र एप डाउनलोड गर्नुहोस् 

 

एप्पलमा एप स्टोर र एन्ड्रोइडमा प्ले स्टोरबाट एप डाउनलोड गर्ने गरिन्छ । तर कहिलेकाहीँ आफ्नो आवश्यकताका लागि हामी थर्ड पार्टी एप स्टोर अथवा वेबसाइटबाट पनि एपहरू डाउनलोड गर्ने गर्छौं । एन्ड्रोइडमा यो फिचर पहिलेदेखि नै उपलब्ध छ भने अब एप्पल डिभाइसमा पनि चाँडै नै यो फिचर उपलब्ध हुँदैछ ।

 

यस्तोमा आफूले कस्तो स्रोतबाट अथवा कुन डेभलपरबाट तयार गरिएको एप डाउनलोड गर्दैछु भन्ने हेक्का राख्नुपर्छ । थर्ड पार्टी एप स्टोर अथवा वेबसाइटबाट डाउनलोड गरिएका कतिपय एपहरू संक्रमित हुन्छन् र यसले तपाईँको डिभाइसमा पनि मालवेयर इन्स्टल गरेर ह्याकरलाई मोबाइलमा पहुँच दिनसक्छ । यसले गर्दा आफूले एप डाउनलोड गर्नुअघि यसको स्रोत कतिको विश्वसनीय हो भनेर बुझ्न जरुरी छ । 

 

३. अपरेटिङ सिस्टम नियमित अपडेट गर्नुहोस् 

 

सफ्टवेयर अपडेट एकदम महत्त्वपूर्ण विषय हो । मोबाइल कम्पनीले विभिन्न सु्धार सहित अपरेटिङ सिस्टमको अपडेट उपलब्ध गराउने हुँदा समय-समयमा आफ्नो ओएस अपडेट गरिरहनुपर्छ । यसले तपाईँको मोबाइललाई सुरक्षित राख्न मद्दत गर्छ । साथै मोबाइलमा देखापरेका विभिन्न समस्या पनि समाधान गर्दछ । 

 

४. पब्लिक वाई-फाई प्रयोग गर्दा भीपीएन प्रयोग गर्नुहोस् 

 

आजभोलि बैंक,मार्क, सुपर मार्केट लगायत विभिन्न सार्वजनिक स्थलहरूमा नि:शुल्क रुपमा अथवा सशुल्क वाई-फाईको सु्विधा दिइएको हुन्छ । यस्ता सुविधाले हामीलाई सहज बनाउने भएपनि सार्वजनिक वाई-फाई सबैभन्दा धेरै जोखिमपूर्ण हुन्छ ।

 

यसैले सार्वजनिक रुपमा वाई-फाई प्रयोग गर्नुपरेमा भीपीएन प्रयोग गर्नु उपयुक्त हुन्छ । भीपीएन प्रयोग गर्दा यसले तपाईँको व्यक्तिगत विवरणलाई लुकाउन मद्दत गर्दछ । 

 

५. अनलाइन प्लेटफर्ममा आफूले शेयर गर्ने विवरणहरूमा ध्यान दिनुहोस् 

 

अनलाइन प्लेटफर्ममा कुनै पनि प्रकारका व्यक्तिगत विवरणहरु शेयर गर्दा दुई पटक सोच्नुपर्छ । तपाईँले अनलाइन प्लेटफर्ममा शेयर गरेका विवरणले नै तपाईँलाई घाटा पुर्‍याइरहेको हुनसक्छ ।

 

यसैले अनलाइन प्लेटफर्ममा सकेसम्म आफ्नो ठेगाना, फोन नम्बर अथवा अन्य कुनै संवेदनशील व्यक्तिगत विवरण शेयर गर्नु हुँदैन । आपराधिक धारणा भएका व्यक्तिले कुनै पनि बेला तपाईँलाई सामान्य लाग्ने तपाईँको विवरणको फाइदा उठाई तपाईँलाई नै घाटा पुर्‍याउन सक्छ । 

 

६. सेक्युरिटी एपहरू प्रयोग गर्नुहोस् 

 

मोबाइललाई विभिन्न प्रकारका मालवेयर अथवा अन्य जोखिमबाट सुरक्षित राख्न सेक्युरिटि एपहरू प्रयोग गर्न सकिन्छ । यस्ता एपहरूले तपाईँको मोबाइलमा भएको मालवेयर स्क्यान गर्ने, संक्रमित वेबसाइट ब्लक गर्ने, मोबाइल चोरी भएमा ट्रयाक गर्ने लगायतका कामहरू गर्छन् । विश्वासिलो डेभलपर हेरी यस्ता सेक्युरिटी एपहरू प्रयोग गर्न सकिन्छ । 

 

७. नियमित रुपमा डेटा ब्याकअप गर्नुहोस् 

 

तपाईँको फोन हराएको, चोरी भएको अथवा बिग्रिएको खण्डमा तपाईँका डेटा पनि हराउन सक्छ । । त्यसैले क्लाउड स्टोरेजहरू प्रयोग गरी तपाईँको आफ्नो डेटा ब्याकअप गर्नसक्नुहुन्छ ।

 

यसले गर्दा तपाईँको मोबाइल चोरी भयो अथवा हराइहाल्यो भने पनि तपाईँले क्लाउड स्टोरेजबाट आफ्नो डेटामा पहुँच बनाइ यसलाई नियन्त्र‌ण गर्न सक्नुहुन्छ । साथै हार्ड ड्राइभहरूमा पनि आफ्नो डेटा ब्याकअप गर्नाले तपाईँको डेटाको पनि सुरक्षा हुन्छ । 

 

८. फिशिङ स्क्यामहरूबाट सचेत रहनुहोस् 

 

आजभोलि फिशिङको चलन एकदमै बढेको छ । नेपालमा पनि विभिन्न अनलाइन माध्यमबाट फिशिङ आक्रमण हुने क्रम बढिरहेको  छ । यसले गर्दा यस्ता विभिन्न प्रकारका फिशिङ स्क्यामहरूबाट जोगिन आफू पनि सचेत हुन आवश्यक छ ।

 

सामाजिक सञ्जालमा आएका जथाभावी लिंकहरू क्लिक गर्ने, विभिन्न बम्पर अफरको नाममा आएका मेसेज अथवा मेलमा रिप्लाइ गर्ने, आफ्नो व्यक्तिगत विवरण अनलाइनमा कसैले मागेको खण्डमा सहजै उपलब्ध गराउने, बैंकिङ अथवा डिजिटल वालेटका विवरण दिने लगायतका कामहरू गर्नुहुन्न । 

 

९. जथाभावी एप प्रयोग नगर्नुहोस्

 

आफूले कस्तो प्रकारको एप प्रयोग गरिरहेको छु भन्ने विषयमा थाहा पाउन जरुरी छ । कुनै पनि एप तपाईँले इन्स्टल गर्दा यदि उक्त एपले तपाईँको मोबाइलमा भएको डेटा, लोकेसन, तपाईँको कन्ट्याक्ट नम्बर लगायतका विवरणमा पहुँच माग्छ भने उक्त एप सुरक्षित छ कि छैन भनेर जान्न जरुरी हुन्छ ।

 

साथै सबै प्रकारका एपलाई आफ्नो मोबाइलको हरेक विवरणमा पहुँच दिनु पनि आवश्यक हुँदैन । उदाहरणको लागि तपाईँले कुनै फोटो एडिटिङ एप डाउनलोड गर्नुभयो, तर यसले तपाईँको कन्ट्याक्टसमा पहुँच मागिरहेको छ भने यो गलत एप हुनसक्छ । यसरी आफूले कस्तो प्रकारको एप प्रयोग गरिरहेको छु भन्ने विषयमा ध्यान दिनुहोस् । 

 

१०. सार्वजनिक स्थानमा स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनुहोस् 

 

स्मार्टफोन प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । तीमध्ये हामीले वास्ता नगर्ने कुरा भनेको सार्वजनिक स्थानमा मोबाइल प्रयोग गर्ने हो ।

 

सार्वजनिक स्थानमा मोबाइल प्रयोग गर्दा आफू वरिपरि कस्ता व्यक्ति छन्, कसैले हेरिरहेको त छैन भन्ने लगायतका कुरामा ध्यान दिन आवश्यक छ । साथै सार्वजनिक स्थानमा आफ्नो फोन जहाँ पायो त्यहीँ छोडेर हिँड्ने गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

अब नेपाली नागरिकले भारतसहित अन्य देशमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत

इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप

मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ ।   चिनियाँ प्रतिस्पर्धी

कल रिकर्ड वा स्क्रिनसट सार्वजनिक गरे ३ वर्ष जेल र तीनलाख जरिवाना

कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ