शुक्लाफाँटामा बाघ बढे

२०८१ बैशाख ११ मंगलबार

कञ्चनपुर-

 

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ ।

 

दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो ।

 

निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको  निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

 

“यहाँ बाघका लागि खाना र वासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठुलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए । 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन् । ‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात  छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने । 

 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए । 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् । रासस

प्रतिकृया दिनुहोस

बेलौरीका मेयर पाेतीलाल चाैधरीले डिआईजी केसीलाई भेटेपछि..!

बेलाैरी, कञ्चनपुर -    कञ्चनपुरको दक्षिणी क्षेत्र सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरुलाई विभिन्न बहानामा फसाउन थालेपछि बेलौरी नगरका मेयर

डडेल्धुरा : ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा-   डडेल्धुरामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।   जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा

बेलाैरी : नदीमा डुबेर दुई किशोरको मृत्यु

बेलाैरी, कञ्चनपुर -  कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।   बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर