‘हामी सुधार्छौं, हाम्रो विद्यालय’ राष्ट्रिय अभियान सुरु

२०८० चैत १३ मंगलबार

नेपाल शिक्षक महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको संयुक्त अगुवाइमा ‘हामी सुधार्छौँ, हाम्रो विद्यालय’ राष्ट्रिय अभियान सुरु भएको छ ।

 

विद्यालयको व्यवस्थापन सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको राष्ट्रिय अभियानको २५ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरिएको हो । 

 

सङ्कल्प पत्रमा प्रत्येक विद्यालयमा विद्यालय सुधारको लागि १० वर्षे रणनीतिक योजना निर्माण गरी अभिभावकहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्ने र समुदायसँग मिलेर विद्यालयको आवधिक कार्ययोजना बनाउने लगायत बुँदा रहेका छन् ।

 

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मोक्तानले बताए । 

 

यस्तो रहेको छ, २५ बुँदे सङ्कल्प पत्र : 

 

१. प्रत्येक (साधारण, प्राविधिक तथा व्यावसायिक) विद्यालयमा विद्यालय सुधारको लागि १० वर्षे रणनीतिक योजना निर्माण गर्नेछौँ । 

 

२. रणनीतिक योजनाको आधारमा अभिभावकहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्ने र समुदायसँग मिलेर विद्यालयको आवधिक कार्ययोजना बनाउँछौँ । विद्यालयलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउन विभिन्न तहको सरकार समक्ष सहकार्य गर्नेछौँ । 

 

३. हामीले हाम्रो विद्यालयको लक्ष्य र गुणस्तरीय शिक्षाको मानक र मापदण्ड तयार गर्नेछौँ र प्राप्तिको लागि प्रयास गर्नेछौँ ।

 

४. हाम्रो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई तालिम प्रदान गर्नेछौँ । प्रविधिमा न्यूनतम निपुण बनाउनुको साथै शिक्षकहरूको हातमा ल्यापटप पुर्‍याउनेछौँ । यसका लागि शिक्षक, स्थानीय तह तथा अन्य संस्थाहरूसँग सहकार्य र साझेदारी गर्नेछौँ ।

 

५. सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको व्यक्तिगत प्रोफाइल तयार गर्नेछौँ र विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्दै बालबालिकालाई हौसला प्रदान गर्नेछौँ ।

 

६. विद्यार्थीको प्रमाणपत्रमा प्राप्त गरेको अङ्क र विद्यार्थीले जानेको सीप समेत उल्लेख गरेर सिकाइलाई जीवनोपयोगी बनाउन विद्यार्थी र अभिभावकसँग छलफल गर्नेछौँ ।

 

७. सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति, प्रअ र शिक्षकहरूलाई  बालबालिका, अभिभावक र समुदाय प्रति उत्तरदायी बनाउनेछौँ । 

 

८. स्थानीय अभिभावक तथा समुदायलाई सिकाइको स्रोतको रूपमा ग्रहण गरी शिक्षकको अभावमा भएको खाली पिरियड पूर्ति गर्नेछौँ ।

 

९. स्थानीय समुदायलाई विद्यालयको लागि आवश्यक स्रोत सङ्कलनमा सहभागी बनाउने छौँ ।  

 

१०. सामुदायिक विद्यालय सेवा क्षेत्रभित्रको सम्पूर्ण बालबालिकाको शैक्षिक अधिकार ग्यारेन्टी गर्न सबै बालबालिका विद्यालय भर्ना भएको, नियमित उपस्थित भएको र सिकाइमा सुधार भएको सुनिश्चित गर्दछौँ ।

 

११. हाम्रो विद्यालयमा प्राचीन, परम्परागतका साथै आधुनिक प्राविधिक सीपमा आधारित शिक्षा दिनुका साथै सो विषयका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दछौँ ।

 

१२. शिक्षण सिकाइको सुधारको लागि शिक्षक मूल्याङ्कनमा स्वमूल्याङ्कन अभ्यास र आफैँ अद्यावधिक गर्न प्रोत्साहन गर्नेछौँ ।

 

१३. विद्यार्थीहरूलाई गृहकार्यको साथमा परियोजना कार्यलाई जोड दिनेछौँ ।

 

१४. स्थानीय भाषालाई प्रवर्द्धन गर्नुका साथै स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा पहल कदमी लिनेछौँ। 

 

१५. विद्यालय व्यवस्थापन समितिको बैठकमा भौतिक विषय मात्र नभई बालबालिकाको सिकाई र नतिजाको बारेमा छलफल गर्दछौँ ।

 

१६. सिकाई उपलब्धिको सुनिश्चितताको लागि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकहरूसँग नतिजामा आधारित कार्यसम्पादन सम्झौता गरी कार्यान्वयन गर्नेछौँ ।

 

१७. विद्यालय व्यवस्थापन समितिले विद्यालयको गुणस्तर विकासको लागि स्थानीय सरकारसँग संवाद र सहकार्य गर्ने ।

 

१८. गुणस्तरीय शिक्षालाई प्रत्याभूत गर्न सर्वप्रथम कक्षाकोठाको रूपान्तरणमा जोड दिनेछौँ । बालबालिकालाई सिर्जनात्मक र आलोचनात्मक बनाउन विशेष पहल गर्नेछौँ ।  

 

१९. सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिहरूमा रहेका सम्पूर्ण पदाधिकारीहरूले विद्यालय उमेर समूहका बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पढाउने छौँ । 

 

२०. समुदायबाट आमा समूहहरू निर्माण गरी विद्यालयको रूपान्तरणमा समुदायमा स्वामित्वको लागि विशेष योजना ल्याउनेछौँ ।  

 

२१. प्रत्येक विद्यालयमा पूर्व विद्यार्थीहरूको समूह बनाएर विद्यालय रूपान्तरण र सुधार अभियानमा संलग्न गर्नेछौँ ।

 

२२. प्राचीन ज्ञानको रूपमा रहेको योग र ध्यानमा आधारित जीवन पद्धतिको प्रवर्द्धन गर्न र योग तथा ध्यानका कक्षाहरू सञ्चालन गर्न प्रतिबद्ध रहनेछौँ । 

 

२३.बालबालिकाको सर्वाङ्गीण विकासको लागि सञ्चालित प्रारम्भिक बाल विकास कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न चार वर्ष उमेरका बालबालिकाको लागि विद्यालयमा आधारित बालविकास केन्द्रलाई व्यवस्थित बनाउनेछौँ । 

 

२४. प्रत्येक विद्यालयमा विश्वव्यापी सोच र स्थानीय कार्य (think globllay and act locally) व्यवहारमा लागू गर्नेछौँ । 

 

२५. सर्वोपरि विद्यालयलाई सामाजिक रूपान्तरण र जागरणको केन्द्र बनाउनेछौँ ।

प्रतिकृया दिनुहोस

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ 

केमिकल बोकेको ट्रकमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा ट्रकमा एक्कासी आगो लागेको छ ।   रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने