‘किसानको पसिनाको न मूल्य छ न कदर’

२०८० मङ्सिर ९ शनिबार

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६ बिघा जग्गामा धान खेती गरेको थिएँ ।

 

साउनमा रोपेको धान काटेर अहिले भित्र्याएको छु । खेतबाट १८० क्वीन्टल धान उत्पादन भएको छ । गाउँमा अहिले व्यापारीहरूले ३ हजार रुपैयाँ क्वीन्टलमा धान बेच्न भनिरहेका छन् । जबकि सरकारले धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको छ ।

 

व्यापारीहरूले अनेकन् प्रलोभन र धान बिक्री नहुने त्रास देखाएर किसानलाई धान बेच्न बाध्य पारेका छन् । गाउँभरिका धेरैजसो किसानले डरले धान बेचिरहेका छन् । म भने दोधारमा छु ।

 

सरकारी कम्पनीले किनिदिए मात्रै पनि केही थप पैसा पाइन्थ्यो । तर, सरकारी कम्पनीमा धान पुर्‍याउनै कठिन छ । उनीहरू पनि किसान भएको ठाउँमा आउँदैनन् ।

 

मैले प्रतिकट्ठा डेढ क्वीन्टल धान फलाएको छु । झट्ट हेर्दा यो धान फलाइ निकै राम्रो हो । तर, धान उत्पादनमा लागेको लागत हेर्दा यहाँ पसिना बगेको हुन्छ तर मूल्य कम छ । मल, बीउ, मेशिन र खेताला खर्च, कीटनाशक औषधि र धान भित्र्याउँदाको खर्च जोड्दा मलाई धानबाट प्रति क्वीन्टलमा ३०० रुपैयाँ हाराहारी मात्रै नाफा बस्ने आशा छ ।

 

यो भनेको प्रतिकट्ठा ४५० रुपैयाँ नाफा बस्यो भने मलाई एक बिघामा ९ हजार रुपैयाँ नाफा हुन्छ । धानका लागि गरेको मेरो लगानी हिसाब गर्दा एक बिघामा धान रोपेर भित्र्याउँदासम्म करिब ५५ हजार रुपैयाँ खर्च भइसकेको हुने रहेछ ।

 

अहिले त सरकार पनि तीन तहमा छन् । तर तीनै तहका सरकारले कृषकका दुःखमा साथ दिएका छैनन् । उनीहरूको साथ पाए अझै पनि कृषकले आफ्नो उत्पादन बढाएर नाफा कमाउन सक्ने थिए ।

 

५५ हजार खर्च गरेर मैले ९ हजार रुपैयाँ कमाउनुपर्छ । यो वर्ष ६ बिघा जमिनमा धान खेती गरेर मेरो करिब ३ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । यत्रो खर्च गरेर झण्डै ४ महिनामा गरेको मिहिनेतबाट मैले कमाउने भनेको ५० देखि ५५ हजार रुपैयाँ मात्रै हो ।

 

धान भित्र्याएपछि लगाउने तरकारी र चैते हरियो मकैबाट मात्रै हो अलिअलि थप लाभ हुने । नत्र धानमा दुःख धेरै आम्दानी कम छ । भनेको समयमा मल, बीउ, मेशिन र श्रमिक पाइँदैन । श्रमिकको ज्याला पनि बढिरहेको छ । खाजा खर्च, मेशिनको खर्च सबै महँगो भएको छ ।

 

मैले सरकारसँग एक पटक पालिकामार्फत अनुदान पाएको छु । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत एउटा चकलाबन्दीमा खेती गर्नु बाहेक मैले थप केही लिएको, पाएको छैन । हाम्रो गाउँ भारतीय सीमाबाट नजिकै छ ।

 

भारतीय उत्पादनको दबदबाका कारण नेपाली उत्पादनले बजार नै पाउँदैनन् । दुई वर्षअघि मैले यही जमिनमा चैते धान लगाएको थिएँ । सिंचाइका लागि निकै मिहिनेत गरेपछि चैते धान निकै राम्रो पनि फल्यो । बर्खे धान भन्दा उत्पादन पनि निकै राम्रो थियो तर सिंचाइ अभावमा यसलाई निरन्तरता दिन सकिएन ।

 

सिंचाइ राम्रो भएको भए धानबाट पनि केही लाभ हुनेथियो । अझै मल, बीउ र लागत सस्तो परेको खण्डमा धान खेती गर्न सकिन्छ तर राज्यबाट सुरक्षा छैन । असुरक्षित भएका कारण किसानहरू धान खेती तथा कृषिबाटै पलायन भइरहेका छन् ।

 

म त ४७ वर्षको भएँ । २० वर्षदेखि यही पेशामा छु । अब छोडेर जाने कहाँ ? लाजगालले पनि जमिन बाँझो नराखौं भनेर मात्रै कृषि गरिरहेको छु । मलाई कृषि प्रोत्साहन गर्न मेरो इच्छा बाहेक अरू केही छैन । सरकारबाट खासै केही पाएको छैन ।

 

अहिले त सरकार पनि तीन तहमा छन् । तर तीनै तहका सरकारले कृषकका दुःखमा साथ दिएका छैनन् । उनीहरूको साथ पाए अझै पनि कृषकले आफ्नो उत्पादन बढाएर नाफा कमाउन सक्ने थिए । उनीहरूलाई आफ्नो कामको कदर भयो भन्ने हुनेथियो । तर, त्यता कसैको ध्यान छैन । - कमल चौधरी 

 

प्रतिकृया दिनुहोस

च्याउ जस्तै उम्रेका मिडिया पत्रकार र पत्रकारिता !

  पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्व सहितको पेशाको रुपमा लिने गरिन्छ । पत्रकारिता उच्च नैतिकता सहितको आस्था, विश्वास र

जब अभिभावकले भने– अचेल त सन्तानलाई पढाउनै मन लाग्दैन!

गत वर्ष म एकपटक धादिङ पुगेको थिएँ। त्यस समयमा विद्यार्थीहरूका केही अभिभावकसँग कुरा गर्ने अवसर मिल्यो। गफ गर्दै जाँदा थाहा भयो, ती अभिभावकका

बेलौरी प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम : पूर्वप्राचार्य जोशी

२०१९ सालमा कञ्चनपुर भन्सार कार्यालय बेलौरीबाट महेन्द्रनगर सारियो भने कैलाली भन्सार कार्यालय त्रिनगर धनगढीमा स्थापना गरियो । दुबै भन्सार