जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

२०८१ बैशाख २३ आइतबार

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज एक दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा छलफल हुनेछ । हालै भारत, कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको श्रृङ्खला माझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो ।

 

जापानका परराष्ट्रमन्त्री कामीकावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूची अन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लाग्नुभएको हो । उहाँ कोलम्बोबाट काठमाण्डौ आउने र बेलुका नै काठमाण्डौबाट स्वदेश फर्किनुहुने कार्यक्रम छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि कामीकावाको यो पहिलो नेपाल भ्रमण हो । अहिले जापानमा एक लाख ६० हजारभन्दा धेरै नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका तथ्याङ्क छ ।  

 

नेपाल–जापान सम्बन्ध

 

दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पनि पुग्दैछ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ तारिखमा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।

 

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेको थियो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो ।

 

नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा जापानले सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता

'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने

सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।   सरकारको आउँदाे आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार